पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
काठमाडौं, १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।
मन्त्री पाण्डेले भने,“पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।”
उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए।