स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ४४ जनालाई प्रतिवादी, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं, १८ पुस । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणको अनुसन्धान सकिएपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा रविसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो ।
अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदनमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदावीसहित मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
‘स्वर्णलक्ष्मीको रकम अनियमिततामा संलग्न लामिछानेसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएका छौं, रकम अपचलनमा संलग्न आरोपमा माओवादी विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रतिवादी बनाइएको छ ।’ एसपी अधिकारीले भने ।
प्रहरी दाबी अनुसार, सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । दीपेश बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका आरोपी समेत हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा पाँच हजार ६६९ जना बचकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रूपैयाँ जम्मा गरेको पाइएको एसपी अधिकारीको दाबी छ । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मीको शाखाहरू न्यूरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा समेत रहेको थियो । त्यहाँबाट पनि रकम कारोबार गरेर रकम ठगी गरेको प्रमाण प्रहरीले भेटेको दाबी गरिएको छ । उक्त सहकारी ठगीबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।
प्रहरीका अनुसार, स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा एक करोड ८२ लाख लगेर अपचलन गरेको पाइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रविको नाममा संयुक्त रूपमा ऋण प्रवाह भएको थियो । दुवैको संयुक्त नाममा जारी भएको ऋणमा ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
प्रहरी अनुसन्धानले स्वर्णलक्ष्मीबाट जीबीले सञ्चालन गरेको हर्बो इन्टरनेशल प्रालिसहित १२ वटा कम्पनीहरूमा समेत ऋण प्रवाह भएको फेला पारेको छ । देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एण्ड एक्सपिडिसन, गोर्खा हर्वल प्रोडक्सन, मन्दरा टुर्स एण्ड ट्राभल्स, कुमकुम हर्वल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस् र भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ६४ करोड भन्दा बढी ऋण प्रवाह गरेको प्रहरी स्रोतको दाबी छ ।
प्रहरीका अनुसार रवि आफैंले हस्ताक्षर गरेर २०७८ भदौ ४ मा ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको प्रमाण फेला परेको छ । उनले ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको तथ्य प्रहरीले भेटाएको छ ।