धनराज र ऋषिकेशलाई सरकारले उन्मुक्ति दिएको माओवादी केन्द्रको आरोप
![धनराज र ऋषिकेशलाई सरकारले उन्मुक्ति दिएको माओवादी केन्द्रको आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/20250102163952_Hq7LYEYBlb_nukdfdhvcjivkkg8jpk6ezmlycb4gzsehff4os3kgq4arwhjbnf3um3gtgd2_bw9ksbeR87_ppjlpncbxh5a5wat8rx6sx95ypw1in3kypvru7ewuvp3eq0liuyjcqhgzykg.jpg)
काठमाडौं, १८ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिइएको आरोप लगाएको छ।
बिहीबार (आज) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन्।
सरकारले भ्रष्टाचारीलाई जोगाइरहेको उल्लेख गर्दै उनले भने, 'कांग्रेस उपसभापति धनराज गुरुङ र लेखा सभापति ऋषिकेश पोखरेललाई सरकारले उन्मुक्ति दिइएको छ। यहीँबाट सरकारले भ्रष्टाचारीहरूलाई जोगाइरहेको पुष्टि हुन्छ, धेरै टाढा जानै पर्दैन।'
उनले सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सापकोटाले भने, 'राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी-छानी कारबाही गर्ने। यस्तो पनि हुन्छ र।'
यस्तै सापकोटाले सरकार विचार-शून्यको अवस्थामा रहेको पनि आरोप लगाए। 'सरकार विचार-शून्यको अवस्थामा छ। उसको उपस्थिति जहाँ पनि शून्यजस्तै छ,' उनले भने।