मुक्तिनाथ विकास बैंक १९औँ वर्षमा प्रवेश, देशभरका शाखामा विभिन्न कार्यक्रमको आयोजना

मुक्तिनाथ विकास बैंक १९औँ वर्षमा प्रवेश, देशभरका शाखामा विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं, २१ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औँ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार देशभरि विविध कार्यक्रम सम्पन्न भएका छन् । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा कुल छ सय ११ युनिट रगत सङ्कलन गरी स्थानीय रक्तसञ्चार गृहहरूलाई हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच ‘आर्ट फर अर्थ, कम्ब्याटिङ क्लाईमेट चेन्ज’ शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा चार सय ७६ विद्यार्थीहरू सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार श्री जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरू तथा समाचारहरू प्रकाशन गर्ने उत्कृष्ट तीन जना पत्रकारहरूलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारले सम्मान गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं) र माधवप्रसाद अर्याल (पाल्पा) लाई क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपरोक्त दुवै प्रतियोगिताहरूमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरूको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरूमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेसनरी सामग्रीहरू वितरण, वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी कार्य, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा सांस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरूसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरू हस्तान्तरणजस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ ।