ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
![ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/1623220089_1sItLRMBvh_k8vpibfdcyogfeffdsvry2ge2s248hakpkkjbhcsyfrqvkr7lgqcvvuxesdg_5gA2wP489g_7ctj1gqndj9bqdndw4phigf4rvxdr8wvxgabtfa844m0f2b5gsicjxnvjcui.jpg)
पर्वत, २१ पुस । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।
पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।
घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।