कलिलैमा विवाह : बैतडीमा १५ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

कलिलैमा विवाह : बैतडीमा १५ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

बैतडी, २१ पुस । बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन् ।

१४ बर्षको उमेरमा बाल बिवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । उनका श्रीमान १८ वर्षका छन् । पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैया सहयोग गरेका छन् ।

संगम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन् ।

पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

 यसअघि पनि सापकोटा आफुले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।