२ माघमा ‘नेपाल सत्कार दिवस’ हुने
काठमाडौं, २२ पुस । होटल संघ नेपालले माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस -२०२५ को आयोजना गर्न लागेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको हो ।
होटल क्षेत्रले वर्षैभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् ।
यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल इयरबुक- २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ ।
यसैगरी सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ ।
उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवद्र्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ ।
साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पत्र्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्नु हुने प्रायोजकहरुदलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि होटल संघ नेपालले जनाएको छ ।
देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।