लेखा समिति सभापतिका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

लेखा समिति सभापतिका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर, २२ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, नेकपा एमालेका नेता समेत रहेका ऋषिकेशका स्वीय सचिव अनिललाई ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा  पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो । 

उनले ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले पक्राउ गरी अनुमति माग गरेकोमा आज अदालतले पोखरेललाई पक्राउ गर्न अनुमति दिएको बताए । 

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको अभियोग उनीमाथि लागेको छ । 

ठगी अभियोगमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट निस्कासित गरेका थिए । 

पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर, पोखरेलले पैसा फिर्ता दिएनन् । उल्टै बौवालाललाई २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि जबरजस्ती कागज बनाएको ९ दिनपछि १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दायर गरेका थिए ।

गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो ।

आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो । अदालतको आदेशको पत्र प्राप्त भएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाले जानकारी दिए ।