जनार्दनको विषयमा प्रचण्डले भने- 'ओलीजस्तो हुनसक्थ्यौँ, तर त्यसो गरेनौँ '
काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र बहसको वातावरण बनाएर राम्रो गरेको भन्दै उपमहासचिव जनार्दन शर्मालाई धन्यवाद दिएका छन् ।
केन्द्रीय समितिको पूर्ण बैठकमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले बहसको वातावरण बनाएकोमा धन्यवाद दिएका हुन् ।
‘हामी केपी ओलीजस्तो हुन पनि सक्थ्यौँ जनार्दनको सवालमा,’ पार्टीभित्र फरक विचार राखेका भीम रावललाई हालै एमालेले कारबाही गरी पार्टीबाट निष्कासन गरेकोतर्फ इंकित गर्दै उनले भने, ‘तर, त्यसो गर्नु राम्रो हुन्थेन । पार्टीमा बहसको वातावरण बनाएर जनार्दनले ठिकै गर्नुभयो । उहाँलाई धन्यवाद छ ।’