विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्रीले गरिन् इजरायली सरकारलाई आग्रह
काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।
आज (बुधबार) मन्त्रालयमा भेटवार्ताका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इजरायली राजदूतसँग जानकारी लिइन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् ।
भेटमा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।
त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।