सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका अधिवक्ताको बहस सकियो, भोलि थुनछेक आदेश आउन सक्ने
काठमाडौं, २४ पुस । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका कानून व्यवसायीको बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले आज (बुधबार) प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।
आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने स्रेस्तेदार खनालले बताए ।
स्रेस्तेदार खनालका अनुसार, सम्भवत बिहीबारसम्ममा आदेश आउनसक्ने सम्भावना छ । ‘सम्भवत बिहीबार नभए शुक्रबारसम्म आदेश आउनसक्ने देखिन्छ,’ खनालले भने ।
आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पुरक अभियोजन गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ ।