लेखा समिति सभापतिकी पत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, २४ पुस । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा तानिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उमागौरी कृषि सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा फारार रहेकी उनी आज (बुधबार) बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ अपचलन गरेको अभियोगमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो । शिक्षिका समेत रहेकी कोइराला मुद्दा दायर भएपछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् ।
सोही सहकारी बचत हिनामिना प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।