पक्राउ परे लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल
विराटनगर, २५ पुस । एमाले नेता तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीवार) बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई नियन्त्रणमा लिएको हो ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत हुन् ।
पक्राउ परेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको अभियोग लागेको छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।
सभापति पोखरेलले ठगी प्रकरणमा मुछिएपछि आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।
ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगी गरेको अभियोग छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । आदेशपछि १० लाख धरौटी बुझाएर बुधबार नै उनी छुटेकी थिइन् ।