एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २६ पुस । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो  ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको साधारणसभामा शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । 

साधारणसभाबाट बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको वित्तीय विवरण पारित गरेको छ ।  

सभाले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।अग्राधिकार शेयर जारीपछि पुँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँलाई वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल र सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छैन।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।