बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग
काठमाडौं, २६ पुस । सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ । जसका लागि अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ । योग्यता भएका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरिएको छ ।
बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनका लागि बिमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । उच्च नैतिक चरित्र भएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । आवेदनसाथ व्यावसायिक कार्ययोजना ४ प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ ।
सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेका छन् ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ । हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः पदबाट निलम्बित भएका थिए ।