पोखराबाट छुटेपनि रविको सांसद पद निलम्बन फुकुवा नहुने
काठमाडौं, २६ पुस । धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछानेको सांसद पद भने तत्काल फुकुवा नहुने भएको छ । अदालतबाट मुद्दा अन्तिम किनारा नलागेसम्म लामिछानेको सांसद पद निलम्बन फुकुा नहुने भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए । सो मुद्दामा बिहीबार लामिछाने धरौटीमा रिहा भएका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीशनीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटी माग गरेको थियो । ६५ लाख धरौटी तिरेर रवि बिहीबार रातीनै थुनामुक्त भइसकेका छन् ।
रविको गत पुस ८ गतेबाट सांसद पद निलम्बनमा छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) निवारण ऐन–२०६४ को दफा २७ मा रहेको व्यवस्थामा संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र निज उपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ ।