मंगलबार १३ फागुन, २०८१

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ: उपप्रधानमन्त्री पौडेल

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, २८  पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई  विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । 

विश्व व्यापार सङ्गठन र काठमाडौँ विश्वविद्यालयले शनिबार आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा  देखिएको बताए।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृङ्खलामा विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सृजना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गरी साझा धारणा तय गर्न यस्ता सम्मेलन उपयोगी हुने स्पष्ट पारे ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्नु आवश्यक रहेको उनले उल्लेख गरे।