चुकेनीको बिजुलीले जुम्ला बजार झिलिमिली
जुम्ला, २८ पुस । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिली भएको छ। पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो।
जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक–पटक आउने समस्या र जुगाड खोलामा पानीको बहाव घट्दै जाँदा लोडसेडिङ बढ्ने गरेको थियो।
यद्यपी, अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङको मार हटेको छ। जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याए पनि भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन।
पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एसियाली विकास बैंकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास बैंकको ऋण लगानी तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको ग्रामीण जिविकोपार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो।
यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पूर्ण घरधुरीको शेयर रहेको चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोर बहादुर बुढाले बताए।
अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत एशियाली विकास बैंक र नेपाल सरकारको २८ करोड ४४ लाख ३० हजार रूपैयाँ अनुदान, ५ करोड नेपाल सरकारको मुअ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लगानी ११ करोड गरी जम्मा ४४ करोड ४४ लाख ३३ हजार रूपैयाँ लगानी रहेको छ।
परियोजनाबाट लामो प्रतीक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरिय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरू हर्षित भएको नविकरणीय उर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सन्चालनमा आएको छ। हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आबद्ध करिब साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ।