पाँच वर्षमा कृषि मन्त्रालयबाट एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह

पाँच वर्षमा कृषि मन्त्रालयबाट एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह

काठमाडौं, २८ पुस । कृषि तथा पशुपन्छी मन्त्रालयले ५ वर्षको अवधिमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आज (आइतबार) सार्वजनिक गरेको छ ।

५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएका छन् । 

आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको हो । 

मन्त्रालयका अनुसार, प्रत्यक्षतर्फ मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान रकम २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको बताइएको छ । 

राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम सम्बन्धमा जानकारी गराएको हो ।