खुद नाफा कमाउने होडमा पहिलो बन्यो नबिल,कुन बैंकले कति नाफा कमाए ?
काठमाडौं, २ माघ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा ३४ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन्। बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
करिब ३४ अर्बमध्ये क वर्गका बैंकहरु अर्थात् २० वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ छ । यसैगरी, विकास बैंकहरुको खुद नाफा ३ अर्ब ८३ करोड र वित्त कम्पनीको ५४ करोड रुपैयाँ मात्र छ ।
हाल २० वाणिज्य बैंकसहित १७ विकास बैंक र १७ वित्त कम्पनी सञ्चालनमा छन् ।
उनीहरुले कात्तिक मसान्तसम्म २४ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेकामा एक महिनामा ९ अर्ब रुपैयाँ नाफा थप गरेका हुन् ।
वित्तीय विवरण अनुसार, सञ्चालमा रहेका कुल ५४ बैंक तथा वित्तीय संस्थाले गत आवभर ७० अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका थिए ।
वाणिज्य बैंकहरुले गत आवभर ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
५ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल देखिएको छ । नबिलले यस अवधिमा साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।
बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई दोस्रो, नेपाल इन्भेस्टमेन्ट मेगा तेस्रो र कुमारी बैंक चौथो स्थानमा रहेका छन् ।
यसैगरी विकास बैंकतर्फ सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ भने गरिमा दोस्रो र शाइन रेसुंगा तेस्रो स्थानमा छन् ।