३ अर्बको लागतमा सुकेधारामा बन्यो होटल ‘मेक्योर काठमाडौं’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

३ अर्बको लागतमा सुकेधारामा बन्यो होटल ‘मेक्योर काठमाडौं’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं, २ माघ । काठमाडौंको सुकेधारा हाइटमा पछिल्लो पटक स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिकरुपमा उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटल उद्घाटन गरेका हुन् । 

३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटल पर्यटन व्यवसायी देशबन्धु बस्नेतले सञ्चालनमा ल्याएका हुन् । व्यवस्थापनको जिम्मेवारी फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको बताइएको छ ।

एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । बस्नेतले यो होटल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन होलटले योगदान दिने विश्वास व्यक्त गर्दै ओलीले होटल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा समेत गरे । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने उनले आश्वासन दिलाए ।

मेक्योर काठमाडौंका सञ्चालक पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापति समेत रहेका बस्नेत हुन् ।

होटलले बढिभन्दा बढी पैसा खर्च गर्ने ‘क्वालिटी टुरिस्ट’ लक्षित गरेको छ । होटल व्यवस्थापनका अनुसार मेक्योर काठमाडौंमा लक्जरी र सुइट गरी १ सय ४ कोठा रहेका छन् भने होटलमा ‘डाइन’, ‘जायका’, ‘सोप्रा इटालियानो’, ‘द कोभ’ र ‘शुक्र बार’ गरी पाँच वटा रेस्टुरेन्ट समेत छन्  ।

त्यसैगरी ‘एबी सुइट–१’, ‘एबी सुइट–२’, ‘बलरुम–१’ र ‘बलरुम–२’ नामका ब्यांक्वेट हल एवं आधुनिक जिम, स्टिम, सौना, वेलनेस सेन्टर लगायत पनि होटलमा उपलब्ध छन् ।

मेक्योरले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझै चिनाउने प्रयास गर्दै पाहुनालाई आधुनिक विलासिता र नेपाली सांस्कृतिक विशेषता अनुभव गराउने उद्देश्य लिएको सञ्चालक बस्नेतले बताए ।

सन् १९६७ मा स्थापना भएको एकोर ग्रुपले हाल १ सय १० भन्दा बढी देशमा ५ हजार ४ सयभन्दा धेरै होटल व्यवस्थापन गर्दै आइरहेको छ । 

एकोरले हाल ४० भन्दा बढी ब्रान्डमा होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । 

हाल एकोर ग्रुपले मेक्योर ब्रान्डमा ६० भन्दा बढी देशमा ८ सय १० हाराहारी होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको बताइएको छ । 

हाल होटलले १ सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । बिस्तारै नयाँ ब्यांक्वेट हल र अन्य सुविधा थप्ने र त्यसपछि रोजगारी संख्या बढेर २ सय २० सम्म पुग्ने मेक्योर काठमाडौंका सञ्चालक बस्नेतको भनाइ छ ।