गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

दोहा, २ माघ । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर गर्न बुधबार अन्तिम प्रयास गरिरहेको बबताएका छन् ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविरामका लागि मध्यस्थता गर्ने र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका इजिप्टका समकक्षी अब्देल फतह अल–सिसीले मङ्गलबार टेलिफोन वार्तामा इजरायल र हमास दुवैले सम्झौताका लागि लचकता देखाउनुपर्ने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौताबारे छलफल गर्न मङ्गलबार अबेर राति उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका थिए भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘बल अब हमासको कोर्टमा रहेको’ बताएका थिए । 

ब्लिन्केनले भने, “यदि हमासले स्वीकार ग¥यो भने यो सम्झौताले पूर्णता पाउनेछ र कार्यान्वयनको चरणमा जानेछ ।”

वार्ताबारे जानकार एक इजरायली स्रोतका अनुसार बुधबार दोहामा वार्ता जारी छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले वार्ता अन्तिम चरणमा पुगेको र मध्यस्थकर्ताले चाँडै नै सहमतिमा पुर्‍याउने  विश्वास व्यक्त गर्नुहुनेछ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले भने, “हाम्रो तर्फबाट सम्झौताका लागि साँचो इच्छा शक्ति छ ।”

गाजामा अहिलेसम्मकै सबैभन्दा घातक युद्ध अन्त्य गर्ने महिनौंको असफल प्रयासपछि पछिल्लो प्रगति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा केही दिनअघि आएको हो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो । त्यस दिन लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९४ जना अझै गाजामा रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।

गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ४६ हजार ६४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ ।