रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

यो आदेशपछि रवि पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर उनी गत बिहीबार मात्र रिहा भएका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्था बचत हिनामिनाको आरोपमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।