राष्ट्रपति पौडेलले जारी गरे भूमि अध्यादेश
काठमाडौं, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । जसमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो ।
बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् । भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले दियो ।
स्रोतका अनुसार, सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको छ ।
भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले व्यवस्था गरिएको बताइन्छ ।