अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण भएपछि स्थानीयलाई सहज
रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेश अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका १४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षौदेखि भोग्दै आएको सास्ती सधाका लागि अन्त्य भएको छ ।
जलदेवी आधारभुत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले बिशेषगरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए । पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दुरीमा पुग्न सकिने हुँदा व्यापारीक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डको रुपमा यस पुल रहेको उनी बताउँछन् ।
“देशलाई नै पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग, अरुणखोला, कावासोती बजारमा सजिलै सवारी साधनमा पुलबाट आधा घण्टामा पुगिने हुँदा अणखोलाको जलुकेको पुल निस्दी ४ का स्थानीयलाई महत्वपूर्ण कोशेढुंगा बनेको छ” उनले भने ।
पाल्पा सदरमुकाम तानसेन जानुभन्दा नवलपरासी सुस्ता पश्चिम र नवलपरासी सुस्ता पूर्व (नवलपुर) का विभिन्न बजारमा विविध सेवा लिन पुल बनेपछि बाहै महिना आवतजावत गर्न सजिलो हुने सोतीले जनाए । खोलामा पक्की पुल नहुँदा वर्षायामभरी नै वारिपारी गर्न सकिदैनथ्यो । हिउँदको समयमा खोला वारपार गरेपनि यस क्षेत्रका स्थानीयलाई वर्षायाममा कामकाजमा जान सक्ने अवस्था थिएन । अब भने सो समस्या सधाका लागि टरेको छ ।
सङ्घीय सरकारमार्फत एक सय दशमलव १५ मिटर लम्बाईसहितको दुई लेनको पक्की पुल निर्माण भएको छ । हिम सगरमाथा कन्ट्रक्सन प्रालिले २०७९ असार २९ गते सम्झौता गरी २०८१ असार १४ गते निर्माण सम्पन्न गरेको पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले बताएका छन् । उनका अनुसार दुई स्पान रहेको यस पुल भ्याट सहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण गरिएको छ ।
गण्डकी प्रदेश तनहुँको भिमाद देखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडक अन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ । सो योजना अन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतीको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ ।
भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतीको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र शहर जोडीने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ ।