वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौँ, ३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा हिजो (बुधबार) थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले विज्ञप्तिमार्फत विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको उल्लेख गर्दै यो घटना दुःखदायी भएको जनाएको हो ।
विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ ।
उक्त घटनाको कांग्रेसले निन्दा र भत्सर्ना गर्दै यस्ता घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याइ कडा कारबाही गर्न सरकारसँग माग समेत गरेको छ ।