काठमाडौं महानगरले भन्यो- विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए

काठमाडौं महानगरले भन्यो- विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए

काठमाडौं, ३ माघ  । काठमाडौं महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ ।

‘माघ २ गते बुधबार काठमाडौंमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बारेमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीले काठमाडौं महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भएपनि अहिलेसम्म राजस्व नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्ने भन्दा बाहेक अरु कुरामा कहिले पनि समन्वय भइरहेको छैन ।’

उक्त भनाइ आफैँमा गैर जिम्मेवार र विषय वस्तुको जानकारी नलिइ व्यक्त गरेको देखिएको महानगरको भनाइ छ ।