संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : प्रचण्ड
काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको बताएका छन् ।
चितवनको माडीमा सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ । ’ प्रचण्डले भने ।
देशलाई दुर्घटनाबाट बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन आग्रह समेत गरे । आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर उनले गरे ।
‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’ प्रचण्डले भने ।
सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको उनको भनाइ थियो ।
‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित हो,’ प्रचण्डले भने ।
समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति प्रकट गरे ।