सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस
काठमाडौँ, ३ माघ । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् ।
‘अध्यादेशको विषयमा हामी स्पष्ट छौँ । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा,’ घिमिरेले भने, ‘यदि तत्कालै अध्यादेश नल्याउने हुँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने भयो । कानुनी राज्यमा कानुनको संशोधन नगरी यसलाई अघि बढाउन सकिने अवस्था थिएन ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे काँग्रेसभित्रै केही नेताहरू असन्तुष्ट देखिएका छन् ।