कांग्रेस महामन्त्री शर्माको प्रश्न- गैर आवासीय नेपालीलाई नागरिकता दिएपछि भिसा किन ?
काठमाडौं, ३ माघ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैर आवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो विमत्ति रहेको भन्दै सच्याउनुपर्ने माग अघि सारेका छन् ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ ।
अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख छ ।
गैर आवासीय नागरिकता प्रदान गरेर भिसा उपलब्ध गराउने विषय अनुचित हुने महामन्त्री शर्माले बताएका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पार्टीका मन्त्रीसहितको बैठकमा शर्माले यसबारे प्रश्न उठाएका हुन् ।
‘नागरिकता प्रदान गर्ने संविधानको व्यवस्था अनुसार गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने हुँदा भिसा किन ?’ भन्दै उनले प्रश्न गरेका थिए ।
‘गैर आवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकार अनुसारको नागरिकता लिने हुन् । नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने ?, गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘तिमीलाई निःशुल्क भिसा छ’ भन्न मिल्दैन ।’ शर्माले भने ।
गैर आवासीय नेपालीका सन्दर्भमा गरिएको थप व्यवस्थामा ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निशुल्क उपलब्ध गराइने’ प्रावधान राखिएको छ । गैर आवासीय नेपालीलाई संविधानको भाग २ को धारा १४ ले नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।
सरकारले कानुन सुधारका क्रममा राखेको उक्त व्यवस्थालाई गैर आवासीय नेपाली संघमा आवद्धहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि पुनः भिसा लिनुपर्ने व्यवस्था संविधानको मर्म र एनआरएनएको अपेक्षासँग मेल नखाने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।