प्रमुख चार दलका नेताहरूबीच कानून निर्माणबारे छलफल
काठमाडौं, ४ माघ । कानून निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो । चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू बैठकमा उपस्थित थिए ।
‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको बताइएको छ । कानुन निर्माणमा समयसीमा राख्ने लगायतका विषयमा समेत दलहरूले छलफल गर्दै आइरहेका छन् ।