अध्यादेश ल्याउने सरकारको कदम ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश’: विपक्षी
काठमाडौं, ४ माघ । सरकारले संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले आपत्ति प्रकट गरेका छन् ।
विपक्षी दलहरूले शुक्रबार पत्रकार सम्मेलनमा अध्यादेश ल्याउने सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ भएको बताएका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त वक्तव्य सुनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।
‘संघीय संसद्को नियमित हिँउदे अधिवेशन नबोलाएर संसदीय समितिमा छलफलमा रहेका विधेयक फिर्ता पनि नलिई गम्भीर प्रकृतिका कानुनहरू अध्यादेश जारी गर्ने कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ वक्तव्यमा उल्लेख छ, ‘सरकारको यो कदमबाट संविधानको मर्म र भावनामाथि प्रहार भएकोप्रति संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति प्रस्तुत गरेको हाम्रो ठहर छ ।’