अवैध सम्बन्धबाट शिशु जन्मिएपछि डस्टबिनमा फ्याँकेर हिँडिन् १७ वर्षीया किशोरी

अवैध सम्बन्धबाट शिशु जन्मिएपछि डस्टबिनमा फ्याँकेर हिँडिन् १७ वर्षीया किशोरी

प्यूठान, ५ माघ । प्यूठानको सरुमारानी गाउँपालिका–२ मा फोहोरका लागि राखिएको डस्टबिनमा नवजात शिशुको शव भेटिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।

बिहीबार बिहान डस्टबिनभित्र शिशुको शव फालिएको अवस्थामा फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई अघि बनाएको थियो। छानबिनका दौरान बिहीबार राति १७ वर्षीया किशोरी र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए।

मृत शिशुको जन्म ५–६ दिनअघि भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ। प्रहरी हिरासतमा रहेकी किशोरीले शिशु आफूले फालेको स्वीकार गरेकी छन्। ती किशोरीका अनुसार, बच्चा जन्मिएपछि रुन थालेको थियो। उनले मुख थुन्दा शिशुको मृत्यु भएको बताएकी छन्।

अनुसन्धानका क्रममा ती किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी भएको र उनी आफन्तसँग प्यूठानमा बस्दै आएकी थिइन्। उनका बुवाको निधन भइसकेको छ भने आमा रोजगारीका लागि दुबईमा छन्। किशोरीले आफू तीन महिनासम्म मोटाएको जस्तो लागेको र गर्भावस्थाबारे थाहा नभएको बयान प्रहरीलाई दिएकी छन्। 

प्रहरीले किशोरीको बयानका आधारमा थप अनुसन्धान गर्दै १८ वर्षीय किशोरलाई समेत नियन्त्रणमा लिएको छ। ती किशोर सरुमारानी गाउँपालिकाकै निवासी रहेको खुलेको छ। किशोरीको स्वास्थ्य अवस्था कमजोर रहेकाले सालनाल नझरेकाले उनलाई अहिले जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ। शिशुको जन्मसम्बन्धी थप विवरण भने मेडिकल रिपोर्टबाट आउनेछ।

जिल्ला अदालत प्यूठानबाट अनुमति लिएर ती किशोरमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारण खुलाउने अपेक्षा गरिएको डीएसपी बस्यालले बताए ।