सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब पुग्यो
काठमाडौं, ६ माघ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सार्वजनिक ऋणको आकार २५खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण पुस मसान्तसम्म बढेर एक खर्ब २ अर्ब ३ करोड थपिएको हो ।
हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ४६ प्रतिशत बराबर हो । विनिमय दरमा भएको घटबढले मंसिरको तुलनामा यस महिना ११ अर्ब ६१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ ।
पुस मसान्तसम्म सरकारले एक खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ र ब्याज वापत ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा पुस मसान्तसम्ममा बढेर १२ खर्ब ३४ अर्ब ७१ करोड पुगेको छ ।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६४ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले एक खर्ब ८१ अर्ब आन्तरिक ऋण उठाउँदा एक खर्ब २७ अर्ब २४ करोड बराबर ऋण तिरेको छ ।
त्यस्तै, पुस मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १३ खर्ब एक अर्ब ४१ करोड रुपैयाँ छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।
पुस मसान्तसम्म सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड खर्च गरेको छ भने यहि अवधिमा ५९ अर्ब ३ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ८१ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा पुस मसान्तसम्ममा दुई खर्ब ४० अर्ब ८ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ४३ दशमलव ५९ प्रतिशत बराबर हो । जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः५४.८६ र २७.२० प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । पुस मसान्तसम्ममा एक खर्ब ८२ अर्ब ४० करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।