सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
काठमाडौं, ६ माघ । भारतीय चलचित्रका अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको भारतीय प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको भनिएको छ ।
उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि नभेटिएकाले अनुसन्धान जारी छ ।
‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।’ पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने ।
उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बंगलादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोपपत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालतमा पेस गरिँदै छ ।
प्रहरी जानकारी अनुसार, ती व्यक्ति सैफ अली खानको घरभित्र चोरी गर्ने उद्देश्यले गएका थिए। सोही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो । शल्यक्रियापछि सैफ अली अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।