सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा

सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने समेत जोडिएको बुटवलको सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको जनाएको हो ।

मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् । 

‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी छन्’ केसीले भनिन् ।

लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् ।अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ । रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ । 

२ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद गरिएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

सुप्रिम सहकारीको रकम अनियमितताबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता गरिएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ अपचलन भएको भन्दै २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।