नेटाले पायो ८२ करोड डलर नयाँ लगानी, आक्रमक रणनीति बनाउँदै
काठमाडौं, ६ माघ । नेटा अटोले अन्तर्राष्ट्रिय बिक्री बढाउन ६ अर्ब चिनियाँ युआन (८१८ करोड अमेरिकी डलर) फाइनान्सिङ पाएको छ ।
विगत केही महिनादेखि बिक्री घटेर नेटाको उत्पादन नै बन्द हुने हो कि भन्ने हल्ला चलिरहेको बेला ठूलो लगानी भित्रिएको हो ।
नेटाको उत्पादक कम्पनी होजोन अटोले यस विषयमा कुनै जानकारी नदिए पनि नेटामा सरकारी र विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले लगानी गरेको चिनियाँ संचार माध्यमहरूले जनाएका छन् । नेटामा थप लगानी भित्रिएसँगै अहिलेसम्मको कर्मचारीको तलब सबै चुक्ता गरेको कर्मचारीहरूले बताएका छन् ।
नेटाले सन् २०२३ को जनवरीमा पहिलो कम्पनीको रूपमा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्ने सम्झौता गरेको थियो । नेटाको एल क्रसओभर पहिलो पटक सीएटीएलको सोडियम कन्टेन भएको फ्रिभोय ब्याट्री प्रयोग भएको थियो ।
नेटाले पछिल्लो समयमा थुप्रै आन्तरिक परिवर्तनहरू गरेको छ । कम्पनीले कस्ट कन्ट्रोल गर्नका लागि चीनमा रहेका आफैंले चलाएका स्टोरहरू बन्द गरी डिलशिप नेटवर्कको विकास गरिरहेको छ । नेटाले अब सामान्य रूपमा गाडी उत्पादन गर्ने र बिक्रीपछि स्पेयर पार्टर्सको आपूर्ति गर्नु आफ्नो उद्देश्य रहेको जनाएके छ ।
आज भएको दोस्रो ओभरसिज डिलर तथा इन्भेस्टर कन्फ्रेन्समा अन्तर्राष्ट्रिय बजारमा फोकस रहने र बिक्री दोब्बरले बढाउने कम्पनीले जनाएको छ ।
गत वर्ष नेटाले अन्तर्राष्ट्रिय बजारमा ३० हजार भेहिकल बिक्री गरेको थियो । नेटाको हाल विश्वका ४० देशहरूमा १८० वटा बिक्री कक्षहरू रहेका छन्। नेटाको साउथइस्ट एसिया, सेन्टर तथा साउथ अमेरिकामा बलियो उपस्थिति रहेको छ ।