इजरायल-हमास युद्धविराम : हमासले मुक्त गर्न सक्ने ३३ बन्धकको सूचीमा छैन विपिन जोशीको नाम

इजरायल-हमास युद्धविराम : हमासले मुक्त गर्न सक्ने ३३ बन्धकको सूचीमा छैन विपिन जोशीको नाम

काठमाडौं, ६ माघ । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । 

सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् ।  इजरायली अधिकारीहरूका अनुसार, हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवितै रहेका छन् ।

हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ । हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुने बताइएको छ ।