स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौं, ६ माघ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ ।

थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर, उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब सोमबार बहस सकिएपछि थुनछेक आदेश आउनले अदालतले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो। यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरेको अभियोग लगाइएको  छ ।