निफ्राको नाफा र आम्दानीमा गिरावट

निफ्राको नाफा र आम्दानीमा गिरावट

काठमाडौं, ७ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५८.६५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २२.५८ प्रतिशत र सञ्चालन मुनाफा ६.९४ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४५ पैसा घटेर ५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.२८ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५२ करोड २१ लाख रुपैयाँ रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५७ करोड २५ लाख रुपैयाँ सञ्चित छ।