यू–१९ महिला क्रिकेट विश्वकप: स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित, 'सुपर सिक्स' मा पुग्न कठिन

यू–१९ महिला क्रिकेट विश्वकप: स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित, 'सुपर सिक्स' मा पुग्न कठिन

काठमाडौं, ७ माघ । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।  आज (सोमबार) सम्पन्न भएको आफ्नो खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । 

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले हारेको थियो ।  यस जितसँगै स्कटल्याण्डको सुपर सिक्स सम्भावना बढेको छ भने हारसँगै नेपालको सम्भावना कठिन भएको छ  ।

आफ्नो दोस्रो खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८.५ ओभरमा ९ विकेटको नोक्सानीमा पूरा गर्‍यो । उसका लागि पिप्पा स्प्रौलले ३५ र गेब्रिएला फोन्टेन्लाले अविजित १२ रन बनाइन् । 

नेपालका लागि रचना चौधरी र सिमाना केसीले दुईरदुई तथा पूजा महतो र कृष्मा गुरुङले एकरएक विकेट झारे। त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा समेटियो । 

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रनको योगदान दिइन् । यस्तै, सावित्रा धामीले ११ बलमा १० रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।  

स्कटल्याण्डका लागि माइसी मासिराले घातक बलिङ गरिन् । उनले ३.५ ओभरमा १५ रन दिएर सर्वाधिक ५ विकेट लिइन् ।  

लगातार दोस्रो पराजयपछि नेपालको सुपर सिक्स यात्रा कठिन बनेको छ । नेपालले अब सुपर सिक्समा स्थान बनाउन समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने हुन्छ । नेपाल र अस्ट्रेलियाबीचको खेल बुधबार हुनेछ ।

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई चार समूहबाट समान तीनरतीन टोली सुपर–६ मा पुग्नेछन् ।

सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई/दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।