प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद् अधिवेशनको बिजनेसबारे छलफल
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
बालुवाटार स्रोतका अनुसार, उक्त भेटकाक्रममा संघीय संसद्को बिजनेसबारे छलफल भएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।
स्रोतका अनुसार, आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी छ ।
संघीय संसद्को नियमित अधिवेशन १८ माघमा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गरिसकेको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।
संसद्का विपक्षी दलहरूले एक स्वरमा संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्दै अन्यथा विशेष अधिवेशनको माग गर्ने चेतावनी दिइरहेका छन् ।