गत वर्षको तुलनामा बैंकहरूको नाफा घट्यो
काठमाडौं, ७ माघ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
आर्थिक वर्ष सकिएको एक साताभित्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार २० वटै वाणिज्य बैंकले सोमबार विवरण सार्वजनिक गरेका हुन् ।
साउनदेखि पुस मसान्त (६ महिना) सम्ममा २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा बैंकहरूको नाफा ४.६२ प्रतिशत घटेको छ । गत आव सोही अवधिमा २० बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख थियो ।
समीक्षा अवधिमा ११ बैंकको नाफा बढेको छ । वृद्धिदरका आधारमा प्रभु बैंक अब्बल देखिएको छ । बैंकको नाफा समीक्षा अवधिमा ८५ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी बढ्नु र लोन लस प्रोभिजन घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव देखिएको छ ।
प्रभुपछि नाफा धेरै बढाउन सफल भएका बैंकमा एनआईएमबी, ग्लोबल आईएमई, एनएमबी क्रमशः छन् ।