वीरगन्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब राजस्व संकलन
काठमाडौं, ७ माघ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनाको अवधिमा रु. ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालू आवको ६ महिनाको अवधिमा रु. एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६.८४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलन सुधारोन्मुख रहेको बताए। ‘सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,’ उनले भने, ‘साउनयता पुस महिनामा उच्च राजस्व संकलन भएको छ ।’
वीरगन्ज भन्सार कार्यालयले चालू आवको साउन महिनामा रु. १२ अर्ब १५ करोड राजस्व संकलन गरेको छ । यसैगरी, भदौमा रु. १३ अर्ब ४२ करोड, असोजमा रु. १३ अर्ब ४७ करोड, कात्तिकमा रु. ११ अर्ब १० करोड, मंसिरमा रु. १४ अर्ब ४० करोड तथा पुसमा चालू आवकै बढी रु. १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ ।
कार्यालयले चालू आवको ६ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६.५६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु. दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालू आवको महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत राजस्व संकलन गरेको हो ।