६ महिनामा देशको अर्थतन्त्र : आयात ७ प्रतिशतले बढ्यो, व्यापार घाटा नाघ्यो ७ खर्ब

६ महिनामा देशको अर्थतन्त्र : आयात ७ प्रतिशतले बढ्यो, व्यापार घाटा नाघ्यो ७ खर्ब

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा आयातमा ७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

 चालु आव पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

गत आव सोही अवधिको तुलनामा यो ७.०६ प्रतिशतले बढी हो । गत आव ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

भन्सार विभागको तथ्याङ्कले बजारमा वस्तु मागमा वृद्धि भएको देखाएको छ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले बढी हो । 

विभागका अनुसार, चालु आव पहिलो ६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको  छ ।

आयातसँगै निर्यात पनि उल्लेख्य  बढेको छ । चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो ।

उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

 गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ ।

चालु आव पहिलो ६ महिनामा मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको देखिएको छ । 

दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको भन्सार विभागले जानकारी दिएको छ। गत आव त्यसै अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।