हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
खजुरा (बाँके), ८ माघ । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगन्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।
बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताइन् ।
उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिइन् । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।
उनका अनुसार जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ । नेपालगन्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतिक्षामा विमानस्थलमा बसिरहेको छन् । शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।