नयाँ दिल्लीमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो-२०२५ मा टाटा मोटर्सका ईभीप्रतिको बढ्दो क्रेज
काठमाडौं, ८ माघ । भारतको राजधानी नयाँ दिल्लीमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स समेत चर्चामा रहेको छ । टाटा मोटर्सले पहिलो पटक सो एक्सपोमार्फत दुई नयाँ ईभी सिएरा र ह्यारियर ईभी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका दुई ईभी सिएरा र ह्यारियर ईभीमा धेरै आकर्षक फिचर सामेल गरिएका छन्, जसले इलेक्ट्रिक सवारीको दिशालाई नै नयाँ मोड दिने सम्भावना छ ।
सिएरा ईभीको प्रोडक्सन भर्सनमा तीन स्क्रिन सेटअप हुनेछ, जस मध्ये एक स्क्रिन प्यासेन्जरका लागि हुनेछ । यसका साथै यसको पेट्रोल भर्सनमा १.५ लिटर टर्बो युनिट र डिजेल भर्सनमा पनि यही इन्जिन हुनेछ । ईभी भर्सनमा अल ह्विल ड्राइभका लागि ट्विन मोटरको सुविधा उपलब्ध हुनेछ ।
सो एसयूभी ४.३ मिटर लामो हुनेछ, जुन सफारी र ह्यारियर भन्दा छोटो हुनेछ । यसको डिजाइन बक्सी लाइन्सका साथ धेरै नै सानदार र रेडिकल हुनेछ ।
सिएराको इन्टेरियरले कुनै लाउन्ज जस्तो अनुभव दिनेछ । यसको रियर सिटमा समेत आरामदायक स्पेस हुनेछ । यसमा १२.३ इन्चको टचस्क्रिन र फरक खालको नयाँ सेन्टर कन्सोल हुनेछ ।
ह्यारियर ईभीमा ड्युअल मोटर र अल ह्विल ड्राइभ कन्फिगरेसन उपलब्ध हुनेछ । यसमा अटो पार्क मोड जस्ता फिचरका साथ कुशल ड्राइभिङ अनुभव हुनेछ । यसमा ६० किलोवाट र ८० किलोवाटको ब्याट्री प्याक अप्सन हुनेछ । यो टाटा मोटर्सको फ्ल्यागसिप एसयूभी हुनेछ र यसलाई सबैभन्दा पहिले लन्च गरिने छ ।
त्यसैगरी टाटा मोटर्सले प्रदर्शन गरिरहेको अभिन्या एक्स कन्सेप्ट कार अर्को चर्चित कार बनेको छ । यो अहिले कन्सेप्ट मात्र हो र प्रोडक्सन भर्सन भने उपलब्ध छैन । यो टाटा मोटर्सको पोर्टफोलियोमा हुने सबैभन्दा महंगो कार हुनेछ । कम्पनीले यसलाई ज्यागुअर ल्यान्डरोभरको ईएमए प्लेटफर्ममा तयार गरिरहेको छ ।
टाटा मोटर्सले यो भन्दा पहिले बजारमा ल्याएका नेक्सन, टियागो, टिगोर, पन्च र कर्भ लगायतका ईभीले राम्रो चर्चा कमाइसकेका छन् । यो अवस्थामा भविष्यमा आउने नयाँ ईभी सिएरा र ह्यारियरका साथै अभिन्याको समेत चर्चा शुरु भएको छ । आधिकारिक रुपमा यी नयाँ ईभीको वारेमा धेरै जानकारी सार्वजनिक नभए पनि यसको वारेमा खोजी गर्ने र जानकारी लिने क्रम भने बढेको छ ।
अटो एक्सपो अर्थात भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका यी नयाँ ईभीलाई दर्शकहरुले टाढाबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । नजिक गएर यसको वारेमा बुझ्ने र अनुभव गर्ने अवस्था भने छैन । यद्यपि यी ईभीको डिजाइन र स्टाइलको वारेमा दर्शकले अनुभव गर्न र बुझ्न सक्छन् ।
नेपाली ग्राहकहरुले पहिले देखि नै टाटाका नेक्सन, टियागो र पन्च लगायतका ईभी चढिरहेका छन् । अब नेपालमा टाटा कर्भ र नेक्सन फेसलिफ्ट लगायतका ईभी भित्रिने तयारीमा छन् । भविष्यमा सिएरा र ह्यारियर ईभी पनि अवश्य भित्रिने छन् । यद्यपि प्रतीक्षा भने गर्नु पर्नेछ । भारतमा बिक्री शुरु भए पछि मात्र नेपालमा पनि यी ईभी भित्रिने ट्रेन्ड छ ।
टाटा मोटर्स पछिल्लो समयमा अन्य मोडलका साथै ईभी उत्पादनमा समेत आक्रामक बनेको छ । बजारले समेत टाटाका उत्पादनलाई सकारात्मक प्रतिक्रिया जनाएको छ । पछिल्लो समयमा चिनियाँ ईभीको बजार बढिरहेको समयमा टाटाका नयाँ ईभीको वारेमा ग्राहकको प्रतिक्रिया कस्तो हुने हो, त्यो भने भविष्यले नै देखाउनेछ । यद्यपी, भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा देखिएको टाटाका ईभीप्रतिको क्रेजले भने सकारात्मक नतिजाको अनुमान सहजै गर्न सकिन्छ ।