एलिट क्यापिटलद्वारा चिकित्सकहरुका लागि ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा
काठमाडौं, ८ माघ । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।
क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैयाँ वा सो बराबरको शेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा बार्षिक सेवाशुल्क पूर्णरुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाँड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।
यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई निशुल्क डिम्याट खाता तथा मेरो शेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै शेयर बजारसम्बन्धी निशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागू हुने क्यापिटलले जनाएको छ ।