बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा दर्ता भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् ।

रवि लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन् । दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले  बतायो । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयान दिन काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । 

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा छुटेपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

यसअघि उनी आफैं गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दायर गरिएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । 

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।