कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित
काठमाडौं, ८ माघ । कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका ७९ योजनामा स्रोत सुनिश्चित गरेको छ। स्रोत सुनिश्चित गरिएका अधिकांश योजना झोलुंगे पुल निर्माणका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा विभिन्न ६१ वटा योजनालाई बहुवर्षीय बनाएर स्रोत सुनिश्चित गरेको छ।
मन्त्रालयले कालीकोटमा चार, जाजरकोटमा चार, जुम्लामा चार, डोल्पामा नौ, दैलेखमा सात, मुगुमा पाँच, रुकुम पश्चिममा पाँच, सल्यानमा सात, सुर्खेतमा ११, हुम्लामा तीनवटा योजनामा स्रोत सुनिश्चित गरेको हो। कर्णाली प्रदेश सरकारसँग यसअघि दायित्व सरेर आएका ३५ समस्याग्रस्त योजना र चालू आवमा स्रोत सुनिश्चित गरिएका ६१ सहित जम्मा ९६ वटा बहुवर्षीय योजना छन्।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १४ वटा योजनालाई चालू आवमै स्रोत सुनिश्चित गरेको छ। डोल्पामा एक, कालीकोटमा एक, सुर्खेतमा पाँच, हुम्लामा एक, जाजरकोट (ख) मा चार र मुगुमा दुईवटा योजनामा आगामी आव ०८३/८४ सम्मको बजेट सुनिश्चित गरिएको हो।
मन्त्रालयले १५ करोड रुपैयाँ रकमको योजनाहरूमा स्रोत सुनिश्चित गरिएको जनाएको छ। दैलेख, जुम्ला, रुकुम पश्चिम र सल्यानमा भने कुनै पनि योजनाका लागि थप बजेट सुनिश्चित गरिएको छैन।
योजना कार्यान्वयनका लागि सरकारले चालू आवमा पाँच करोड ६५ लाख रुपैयाँ व्यवस्था गरेकामा मन्त्रालयले आगामी आव ०८२/८३ का लागि यी योजनामा १० करोड १४ लाख ९९ हजार रुपैयाँ विनियोजन गर्नुपर्ने भएको छ।
उद्योग, पर्यटन तथा वन मन्त्रालयले चालू आवमा सुर्खेतका तीनवटा योजनाका लागि दुई करोड १५ लाख १५ हजार रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। चालू आवमा ११ करोड ४० लाख रुपैयाँ र आगामी वर्षका लागि दुई करोड १५ लाख १५ हजार रुपैयाँ विनियोजन गरी स्रोत सुनिश्चित गरेको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ करोड ९८ लाख ६५ हजार नौ सय २३ रुपैयाँ बजेट सुर्खेतका विभिन्न योजनाका लागि लागि स्रोत सुनिश्चित गरेको छ। अन्य नौ जिल्लाका कुनै पनि योजनाका लागि स्रोत सुनिश्चित गरिएको छैन।
स्रोत सुनिश्चित गरिएका सबैभन्दा बढी झोलुंगे पुल निर्माण गर्ने योजनामा स्रोत सुनिश्चित गरिएका छन्। ती स्रोतअन्तर्गतका बजेटबाट ४० वटा झोलुंगे निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ। पक्की पुल ११ वटामध्ये तीनवटा बेलिब्रिज निर्माणका लागि बजेट सुनिश्चित गरिएका छन्। आठवटा सडकका लागि बजेट सुनिश्चित गरिएको छ।